कुनै एउटा बिरामीका लागि साक्षात् भगवान मानिने चिकित्सकहरु पनि नक्कली भेटिन थालेपछि यतिबेला चिकित्सा क्षेत्र एकाएक तात्न थालेको छ । कडा मिहिनेत र साधनाबाट चिकित्सकीय ज्ञान हासिल गरी बिरामीको सारथि बन्ने चिकित्सकहरु नै नक्कली प्रमाणपत्रको अरोपमा धमाधम पक्राउ पर्न थालेपछि यस क्षेत्रमा अनेकौँ सवाल उठिरहेकका छन् । यो स्वाभाविक चिन्ता पनि हो ।
पछिल्लो प्रकरणपछि नक्कली चिकित्सकका सम्बन्धमा आलोचना र चासो हुनु जायज हो । तर समग्र चिकित्सकहरुको मनोबल नै गिर्ने गरी भएका आलोचना र टीकाटिप्पणीहरु प्रतिउत्पादक छन् । त्यसैले यसलाई सन्तुलित ढङ्गले न्याय गर्नुपर्ने देखिन्छ । चिकित्सा क्षेत्र मात्र होइन हरेक क्षेत्रमा यस्ता खालका विकृतिहरु आइरहेकै हुन्छन् । तर समग्र चिकित्सा क्षेत्रलाई नै शङ्काको घेरामा पार्ने गरी भएको आलोचनाले भोलिका दिनमा चिकित्सा क्षेत्र सुध्रिन्छ भन्ने छैन । यसकोे नकारात्मक प्रभावले गर्दा चिकित्सा क्षेत्र थप डामाडोल बन्ने सम्भावना पनि देखिन्छ ।
साच्चै नै भन्ने हो भने यतिखेर योे प्रकरणले समग्र चिकित्सा क्षेत्रलाई नै हल्लाएको छ । त्यसकारण यस प्रकरणबारे उपयुक्त तथ्य र सूचनाहरुको उजागर हुनु आवश्यक छ । म एउटा चिकित्सा क्षेत्रमा लागेर सेवा गर्ने इच्छा राख्दै एमबीबीएस अध्यान गर्दै गरेको विद्यार्थीको नाताले यस कदमलाई समग्र चिकित्सा क्षेत्रको शुद्धीकरणको रुपमा लिन चाहान्छु । चिकित्सक जस्तो मर्यादित क्षेत्रमा पनि यस किसिमका विकृति भेटिनु दुःखद हो । तर ढिलै भए पनि यो क्षेत्रमा भएका विकृतहरुलाई सफाइ गर्नका लागि सरकार लागेको छ । यो सकारात्मक कुरा हो । यसबाट चिकित्सा क्षेत्र मर्यादित र विश्वसनीय बनाउन सहयोग पुग्नेछ । यो अभियानमा सरकारलाई साथ दिनु सम्बन्धित सरोकालवाला पक्षको कर्तव्य हो । चिकित्सक सङ्घ पनि यो कुरामा बाधक बन्नु हुँदैन ।
पछिल्लो प्रकरणपछि त्यस्ता नक्कली प्रमाणपत्रधारी चिकित्सकहरुको बारेमा आलोचना र टिप्पणी हुनु स्वभाविक छ । तर त्यसकै आधारमा समग्र चिकित्सकहरुलाई नै एउटै बास्केटमा हालेर हेर्ने काम भएको छ । यो दुःखद हो । केही नक्कली चिकित्सक भेटिए भन्दैमा सबैलाई त्यही नजरले हेर्दा विषय समाधान हुनुको साटो बल्झिन सक्छ ।
Post a Comment