Latest Updates :

पहेँलो बाकससँगै आएको ४२ लाख

SHARE THIS POST :
शव हाम्ले बुझिसक्यौं, तपाईं आधा घन्टामा आर्यघाट आउनुस्,’ फोनमा यति कुरा सुन्नासाथ म बत्तिएर गौशाला आर्यघाट पुगेँ।

फोन गर्नेलाई मैले चिनेको छैन, न उनले मलाई। आर्यघाट पुगेर फेरि फोन गरे उनले। भने, ‘इलेकट्रिकबाट
जलाउने ठाउँतिर आउनुस् है।’


म बागमती किनारै किनार दौडिँदै पुगेँ त्यो ठाउँ। भर्याङका तीन खुड्किला ओर्लंदा ओर्लंदै पहेँलो रङको बाकस देखेँ। वरिपरि झन्डै एक दर्जन मान्छे जम्मा थिए। बाकसमा ठुल्ठूला अंग्रेजी अक्षरमा लेखिएको थियो :

हयुमन रिमेन्स अफ लेट देवीप्रसाद भारती
एज : फोर्टी फाइभ
एयर वे बिल नम्बर : १५७९५९३३७२५
दोहा टु काठमाडौं

सेतो कपडा लगाएका एक जना मान्छेले हातको इसाराले तल्तिरको बाटो देखाउँदै सानो स्वरमा भने, ‘जाउँ हिन्नुस् मितबाको लाश तल छ।’

फोनबाट बोलाउने विष्णु कार्कीलाई बल्ल चिनेँ मैले।
आँखासामु कतारको दोहाबाट स्वदेश फर्केको संखुवासभाका देवीप्रसाद भारतीको शव–बाकस थियो। दायाँछेउ लस्कर लागेर बसेका थिए उनका आफन्त। निलो कुर्ता–सुरुवालमा मलिन अनुहारमा उभिएकी थिइन्, उनकी श्रीमती भीमकुमारी भारती।
भीमकुमारीसँग फ्याट्टै बोलिहाल्ने आँट भएन। के बोलुँ, के सोधुँ भैरह्यो। अलिक पर एक हुल मान्छेबीच कालो वर्णका मिराज शेख खरो आवाजमा भन्दै थिए, ‘यौटै बिस्तारा, यौटै पलेटमा खान्थ्यौं हामी दुजना।’
रौतहटका मिराज शेख देवीप्रसादका लङ्गौटी यार रहेछन्। सात वर्षअघि उनीहरू दुवै एकैदिन वैदेशिक रोजगारमा कतार पुगेका थिए, फाल्कुन कम्पनीमा। क्याटरिङ काम गर्ने फाल्कुन कम्पनीमा मिराज फ्लोरम्यान थिए। देवीप्रसाद भने सामान्य कामदार।
कम्पनीमा फरक दर्जाका कामदार भए पनि उनीहरू एकअर्काका मिल्ने साथी थिए। एउटै कोठामा त्यतिका वर्ष सँगै बिताए। एकअर्काका सुखदुःख छिपेको थिएन। उनीहरू घर फर्किने तयारी पनि सँगसँगै गर्दै रहेछन्।
‘के भएको थियो त्यस दिन (चैत ३० गते)?’ मैले मिराजलाई सोधेँ।
चम्किरहेको कालो चस्मा आँखाबाट झिकेर टाउकोनिर पु¥याउँदै उनले भने, ‘बिहान ६ बजे उठेर जगायो, भन्छ आज आइएमईबाट पैसा पठाउँछ, मलाई पैसा दे। मैले यसलाई ओछ्यान पल्टाएर हेर्, १५ सय रियाल झिक् भनेँ।’
मिराज बोल्दा पनि लगातार उही पहेँलो बाकसतिर हातले इसारा गर्दै थिए।
देवीप्रसादसँग १७ सय रियाल रहेछ। मिराजले दिएको १५ सय मिसाएर उसँग ३२ सय पुग्यो। केही बेरमै उनी मिराजसँग हुइँकिए दोहाको एउटा बैंकतिर। उनी बाटोभरि पनि परिवारलाई पैसा पठाउने छटपटीमै थिए।
दुवै बैंकभित्र छिरे। मिराजले सोचे, पैसा पठाउन केही समय लाग्छ। भने, ‘इसरापुरलाई भेटेर आउँछु है।’
यति भनेर उनी आफूहरूजस्तै वैदेशिक रोजगारमा कतार आएका साथी इसरापुरलाई भेट्न निस्किए। छुट्टिनुअघि देवीप्रसादलाई भनेका थिए, ‘काम सकेर फोन गर।’
त्यो दिन पैसा पठाउने काम छिट्टै सकियो। घरमा पैसा पठाउन पाएकोमा देवीप्रसादको अनुहार उज्यालो थियो। अरू बेला मासिक हजार रियाल पठाउँथे, यसपालि तीन हजार पठाउन पाए। पैसा पठाइसकेर हतार–हतार मिराजलाई फोन गरेर ‘इसरापुरकै कोठामा आउँदैछु’ भन्यो।
मिराजले फोनबाटै भने, ‘वेटिङ गर, आना पर्दैन, फर्किसक्या छु।’
उनी सरासर बैंक भएकै रोडतिर लागे।
मेनरोडमा ट्राफिक जाम थियो। अरू बेला सललल बग्ने चिल्ला गाडीहरू सबै थपक्क अडेका थिए। गाडीभित्र भएकाहरूलाई आउजाउ किन रोकियो मतलब थिएन। उनीहरू सबै ट्राफिक जाम खुल्ने पर्खाइमा थिए। गाडीको लश्करले हिँड्ने मान्छेलाई पनि बाटो छिचोल्न मुश्किल भइरहेको थियो। अलि पर उनले देखे, आधा सडक ढाक्ने गरी मान्छेको भिडभाड रहेछ। विरलै हुने यस्तो घटनाले उनी छक्क परे। सडकमा कसैको झगडा पर्यो होला भन्ठाने। तीव्र गतिमा हुइँकिएर आएको कारले गति थाम्न नभ्याएर अगाडिको कारलाई ठक्कर दियो कि पनि भन्ठाने। उनी गाडीको लश्कर नाघ्दै अघि बढे। उनको मनमा अगाडिको भिडभाड के रहेछ भनी जान्ने खुल्दुली थियो। उनी फटाफट हिँड्न थाले। हतारिँदै बाटो काटे। र, भिड पन्छाउँदै सबभन्दा अगाडि पुगे।
सडकमा देवीप्रसाद रक्ताम्मे लडेका थिए।
‘आना पर्दैन रुक भनेको थियो मानेन यो,’ मिराजले चोरऔँलाले पहेँलो बाकस देखाउदै झर्केर भने।
उनी रिस्सिएका थिए, देवीप्रसादसँग। रिसमा मिसिएको माया प्रस्टै देखिन्थ्यो।
सडक पार गरिरहँदा एक जना पाकिस्तानीको गाडीले ठक्कर दिएको रहेछ, देवीप्रसादलाई। मिराजलाई एकछिन त के गरुँ, कसो गरुँ अलमलै भयो। उनी भक्कानिँदै साथीको जिउमा घोप्टो पर्न चाहन्थे। त्यसो गरिरहने समय थिएन। रक्ताम्मे साथीको अलिअलि सास चलिरहेको छ कि भन्ने उनलाई लाग्यो। उनले हत्तपत्त प्रहरीलाई सम्पर्क गरे। प्रहरीले हेलिकप्टर मगायो। त्यसैमा घाइते देवीप्रसादलाई बिन महमुदमा रहेको हमाद हस्पिटल पुर्याइयो।

‘अस्पताल नपहुँचदै हवा सक्कर,’ उनले अरेबिक भाषा प्रयोग गरे। अरेबिकमा ‘हवा सक्कर’ को अर्थ ‘सास बन्द भो’ हुँदो रहेछ।

मिराज र मेरो कुराकानी सुनेर उनका आफन्त हामी भए ठाउँतिर जम्मा भैसकेका थिए। देवीप्रसादकी श्रीमती भीमकुमारीले मछेउ आएर दायाँ हातले पुर्पुरो समाउँदै भनिन्, ‘छैसठ्ठी साल माघ २४ उडेका कतार उहिले स्याबुङमै खेतीकिसानी गर्थे। चार जना छोराछोरी खानलाउन त गाह्रो थिएन, पढाउनका दुःखले पठाइयौ, त्यतिखेर बूढा कतार नगाका भए ऐले छोराछोरीलाई झापा राखेर पढाउन सकिन्नथ्यो।
आँखा रसाएका थिए उनका, रुन भने सकिनन्।

कति धेरै देवीप्रसाद गाउँ छाडेर हिँडे होलान्। उनीहरूले कतारको गर्मी भनेनन्। पैसा पनि कमाए होलान्, तर पहेँलो बाकसमा सजिएर घर फर्किने जोखिम पनि त मोले। यस्तो कुरा सोच्दैमा मेरो मन भारी भयो।

एक हुल पछाडि दुर्घटनामा मृत्यु भएका देवीप्रसादले पाउने क्षतिपूर्तिबारे छलफल गर्दै थिए। तीमध्ये एक थिए, गाउँका आफन्ती पदम भारती। उनी गुनासो पोख्दै थिए। भने, ‘जुन म्यानपावरबाट कतार उडेका थिए, उसले कम्पनीको पूरा विवरण दिएन।’

देवीप्रसादको शव झिकाउन हम्मेहम्मे परेको अनुभव रहेछ परिवारलाई। ‘धन्न एमाले नेता राजेन्द्र गौतम संजोगवश कतार पुगेका थिए। त्यही मौकामा कतार दूतावासमा कुराकानी गरेछन्। त्यसपछि बल्ल देवी दाइको लाश ल्याइपुर्याइयो,’ पन्ध्र दिनमा आफन्तीको शव ल्याउन पाउँदा मिलेको सन्तोष सुनिन्थ्यो उनको बोलीमा।

सडक दुर्घटनामा मृत्यु भएकाले देवीप्रसादको शव क्षतविक्षत भएको छ रे। त्यही कारण उनीहरू इलेक्ट्रिकबाट शव दाहसंस्कार गर्ने तयारीमा जुटेका रे।

मिराज भन्दै थिए, ‘दुर्घटना गराउनेले ५० हजार रियाल, कम्पनीबाट ५० हजार रियाल अनि कम्पनीको मालिकबाट ४० हजार रियाल, जम्माजम्मी १ लाख ४० हजार रियाल परिवारले क्षतिपूर्ति पाउँछन्।’

‘त्यो कति रुपैयाँ हुन्छ नि?’ भीडमा एउटाले सोध्यो।

‘४२ लाख अलि बढी होला कि?’ पदम भारतीले अड्कल काटे।

परिवारकै लागि पैसो कमाउन उनी अरब गए, बाँचुञ्जेल कमाउन नसक्ने पैसा मरेपछि कमाएर गए।

यसैबीच मितछोरा विष्णु कार्कीको मोबाइलमा फोनको घन्टी बज्यो। देवीप्रसादका छोराहरू कंलकी आइपुगेछन्। अघिल्लो दिन झापाबाट रात्रिबस चढेर काठमाडौं आएका थिए उनीहरू, आफ्ना बाबुको दाहसंस्कारका लािग।

‘आधा घन्टामा आर्यघाट पुग्छन् होला,’ भतिज विनोद पहाडीले भने।

वैशाख १५ को त्यो बिहान देवीप्रसाद भारतीको रिर्पोटिङ गर्न म गौशाला पुगेको थिएँ। सायद पहिलोपटक जसको बारेमा रिर्पोटिङ गर्दै थिएँ, उसकै कुरा सुन्न पाइनँ। ऊ त मौन थियो, काठको पहँेलो बाकसमा। बाँचेर घाइते मात्र भएका भए के भन्थे होलान्! सोच्दासोच्दै मन अमिलो भयो।

आर्यघाटबाट बाहिर निस्किँदा पशुपतिनाथको मूलढोकानिर एक जना दृष्टिविहिन गीत गाउँदै थिए :

मर्ने कसैलाई रहर हुँदैन
तर, नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने सहर हुँदैन।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger