काठमाडौं, ३२ जेठ । आफुलाई अवहेलना मुद्दा परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले हाडनाता नाटक अघि सारेका छन् । उनले आफूविरुद्धको मुद्दा कायमुकायम प्रधानन्यायाधीश सुशिल कार्की सम्बन्धमा पर्ने भएकाले मुद्दा हेर्न नमिल्ने ढिपीसहितको वकिलनामा अघि सारेका छन् ।
प्रधानन्यायाधीश कार्कीले लोकमानसँग आफ्नो कुनै प्रकारको सम्बन्धका बारेमा थाहा नभएको जनाउँदै घरमा आउने जाने समेत नरहेको दाबी गरीरहेकी छन् । साझा यातायातका सञ्चालक कनकमणि दीक्षितकी श्रीमती शान्ता दीक्षितले लोकमानविरुद्ध सर्बोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्ण बैठकले निर्णय नगरी कसैलाई बयान लिन नबोलाउनू वा पक्राउ नगर्नू भन्ने यसअघि सर्बोच्च अदालतले दिएको आदेशविपरित आफ्ना पतिलाई अख्यितारले पक्राउ गरेको भन्दै शान्ताले लोकमानविरुद्ध अवहेलना मुद्दा दायर गरेकी थिइन् ।
सोही मुद्दा प्रधानन्यायाधीश कार्कीको इजलासमा परेको छ । तर, आइतबार लोकमानका वकील करुणकर मल्लिकले सात पुस्ते विवरण पेश गर्दै कार्कीद्वयसँग नाता सम्बन्ध रहेको जिकीर गरेका थिए । तर, उनीहरुबीच के नाता पर्छ भन्ने स्पष्ट खुलाइएको छैन । लोकमानको दादागिरी अब अदालतसम्म पुगेको अनुमान गरिएको छ ।
आफुलाई राज्यका कसैले पनि केही गर्न नसक्ने ध्वाँस दिँदै भारतको सहारामा टिकेका लोकमानले सर्वोच्च अदालतलाई पनि झुठा विवरण देखाउने काम थालिसकेका छन् । झुठा पुस्तावली अघि सारी प्रधानन्यायाधीश कार्कीको इजलासमा परेको मुद्दाबाट लोकमान फुत्कने प्रयास गरिरहेका छन् ।
दीक्षितका वकिलहरुले भने अख्तियार प्रमुख कार्कीले पेश गरेको पुस्तावली अवैध भन्दै कार्कीकै इजलाशमा उक्त मुद्दाको सुनुवाई हुनुपर्ने जिकीर गरेका थिए । अंशमा हक लाग्ने नाता सम्बन्ध भएमामात्रै मुद्दा हेर्न नमिल्ने तर, सुशील र लोकमान अंशियार नभएकाले मुद्दा हेर्न मिल्ने उनीहरुको दाबी रहेको जनप्रार साप्ताहिकमा समाचार छ ।

Post a Comment