Latest Updates :

स्कुटीबाटै धन्दा गर्ने निशा यसरी परिन प्रहरीको फन्दा

SHARE THIS POST :
काठमाडौं, ४ जेठ । गत २९ वैशाख दिउँसो एक युवती महाराजगन्जको भाटभटेनी सुपरमार्केटनजिकै बुद्धिराज लिम्बूको फेन्सी पसलमा पुगिन् ।


केही पाइन्टहरू हेरेपछि उनले लिम्बूलाई भनिन्, ‘मेरो भाइ ठ्याक्कै तपाईं जत्रै छ, कत्तिको फिट हुँदो रहेछ, एकपटक लगाएर ट्राई गरिदिनुस् प्लिज ।’ ग्राहकले आग्रह गरेपछि पसले लिम्बू पाइन्ट लगाउन ‘चेन्जिङ रुम’भित्र छिरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नयाँ पाइन्ट लगाएर बाहिर निस्कँदा युवती थिइनन् । पसलबाट युवतीसँगै उनको घर्राको ३२ हजार रुपैयाँ पनि गायब भएको थियो । धेरै कपडा किन्न भनेर चिटिक्क परेर आएकी ती सुन्दर युवती ठग थिइन् । उजुरी लिएर उनी नजिकै महानगरीय प्रहरी वृत्त महाराजगन्ज पुगे । उजुरी सुन्दा प्रहरी पनि चकित भए ।
त्यसको भोलिपल्ट फेरि अर्काे अनौठो उजुरी महाराजगन्ज वृत्तमा पर्‍यो । महाराजगन्जको ब्रिटिस कलेजनजिकै फेन्सी पसलमा एक युवतीले १३ हजार ५ सयको सामान किनेर एक हजार मात्र दिएर भागेको भन्दै शैली फेन्सी पसलकी सञ्चालिक संगीता केसी उजुरी लिएर प्रहरीकहाँ पुगेकी थिइन् ।
एक युवतीले विभिन्न किसिमका कपडा किनेको र १३ हजार पाँच सय छ भनेर केही पैसा दिई गन्न लाग्दा स्कुटरमा भागेको उनको उजुरी थियो । पैसा पुगेन भन्दाभन्दै युवती सामान लिएर हुइँकिएकी थिइन् ।
तर, केसीले उनको बा.६९प ७१७० नम्बरको स्कुटी नम्बर टिप्न सफल भएकी थिइन् । सोही स्कुटी नम्बरका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ ।
उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले मन्डिखाटार बस्ने निशा थापामगरले त्यसरी पसलमा फिल्मी शैलीमा ठगेर आतंक मच्चाउँदै आएको खुल्यो ।
उनलाई शनिबार कपनबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी विश्वमणि पोखरेलले जानकारी दिए । ‘ठ्याक्कै फिल्मी शैलीमा उनले ठगी गरेको देखियो,’ पोखरेलले भने, ‘एक ठाउँमा सफल भएपछि लगातार उनले पसलहरूमा सपिङको नाममा ठगी र चोरी गर्दै आएकी थिइन् ।’
निशाले १८ वैशाखमा बालुवाटारको पूर्ण घलेको पसलबाट समेत ठगी गरेको प्रहरीले जनाएको छ । उनी घलेको पसलबाट ११ हजार पाँच सय रुपैयाँबराबरको विभिन्न सामान प्याक गर्न लगाई स्कुटीमा राखेर पैसा तिर्छु भन्दै निस्किएर भागेकी थिइन् ।
निशाले अरू पसलमा पनि ठगी गरेको हुनसक्ने प्रहरीको भनाइ छ । उनको घरबाट चोरी गरेका कपडा तथा अन्य सामान बरामद भएको डिएसपी पोखरेलले बताए । निशा यसअघि एक म्यानपवार कम्पनीमा कार्यरत थिइन् । उनलाई चोरी मुद्दामा आइतबार अदालतबाट म्याद थप गरी कारबाही अघि बढाइएको डिएसपी पोखरेलले बताए ।

SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger